अचानाको चोट खुकुरीलाई थाहा नभएजस्तै राजगद्दी परित्याग गरेर एक नागरिक हुनुुको चोट, विष्मात वा पीडा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जति अरु कसलाई होला र ? तै पनि उच्च कदका हँसिला र गम्भीर स्वाभावका पूर्वराजा आफ्ना सवाल बेला-बेला सार्वजनिक हुने अभिव्यक्ति, प्रतिक्रियाहरुमा, त्यसको लेससम्म प्रस्तुत गर्दैन्न । बरु, आफूले गद्दी त्याग गरिदिँदा देशमा बदलिएको गणतन्त्रको व्यवस्थाले दशकसम्म जनताको अवस्था सुधार नगरिएकोमा चोटिलो प्रहार गर्छन् ।
वजनदार व्यक्तित्वको प्रभाव, अन्तिम शाह राजाको गौरवपूर्ण विरासतको आलोक र सधैंको रोगी देखिने गणतन्त्रको वर्तमानप्रति निराश जनताको मतमा टेकेर अनि आफ्ना कुरा भन्ने मौका भने गुमाउँदैन्न पूर्वराजा ज्ञानेन्द्र ।
नेपाली मात्रको महान पर्व वडादशैं २०७३ को संस्करणलाई पनि उनले जनतासँगको साइनो पुुर्नताजगी गर्ने र जनताको असन्तुुष्टिको जगमा टेकेर आफ्नो गद्दी खोस्नेहरुलाई झटारो मारेका छन् । पूर्वराजा ज्ञानेन्द्रले बितेको दशकभित्र जनताका आवश्यकता पूरा नभएको भन्दै शक्ति सन्तुलनका आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै दशैं शुुभकानमा दिए ।
ज्ञानेन्द्रले हाल खोजेको शक्ति सन्तुलन आफ्नो कित्ताका पनि शासन सत्तामा हिस्सेदारी होस् भन्ने नै हो । तर, आफ्नो लाक्षणिक माग उनले दलहरुको असक्षमताको जगमा टेकेर शव्द वाण प्रहारबाट गरे ।
शुक्रबार साँझ दशैंको शुभकामना सन्देश जारी गर्नेक्रममा पूर्वराजा ज्ञानेन्द्रले अघि सारेका सात यक्ष प्रश्न जनमुखी छन, धरातलीय यथार्थमा आधारित पनि छन् । तर, के त्यसको उत्तर खोजीमा स्वयं पूर्वराजाको कुनै भुमिका आवश्यक छैन ?
केवल हरेक पर्व वा विशेष दिनमा केही शब्दहरुका लेखोट, चिर्कटो सार्वजनिक गरेकै भरमा ज्ञानेन्द्रले आव्हान गरे जस्तै जनता सडकमा उर्लेर राजसंस्थाको पुर्नस्थापनाका लागि उत्रन्छन त ? हो, प्रश्न सोध्ने ज्ञानेन्द्रले नै उत्तर दिनुपर्ने मुल सवाल यहीँनेर छ ।
पूर्वराजा ज्ञानेन्द्रले उठाएका ७ प्रश्नका उत्तरः
१. बितेका दशकभित्र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन भयो त ?
उत्तरः भएन ।
२. राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो भयो त ?
उत्तरः भएन । झन झन कमजोर पारियो ।
३. भ्रष्ट्राचार, अनियमितता, ढीलासुस्ती, दण्डहीनताको अन्त्य गरी जनमुखी शासन, प्रशासन प्रारम्भ गरियो त ?
उत्तरः गरिएन ।
४. विकास, निर्माण र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाइयो त ?
उत्तरः बनाइएन । बरु भएका पनि सिध्याइयो ।
५. परिपक्व परराष्ट्र नीति तर्जुमा गरेर देशको स्वाभिमान र स्वार्थ रक्षा गरियो त ?
उत्तरः गरिएन । जता मल्खु उत्तै ढल्कु जस्तो भैरा’छ ।
६. घर, परिवार छाडेर पराया भूमिमा पसीना बगाउनुपर्ने बाध्यताबाट नेपाली युवाहरुलाई मुक्त गरियो त ?
उत्तरः यो त सतप्रतिशत सही । मुक्त गरिएन । थपियो बरु ।
७. अपराध र अपराधीकरणलाई निरुत्साहित गरियो ? या जनताका निम्ति के के गरिए ?
उत्तरः खास केही गरिएन । बरु कानुन हातमा लिनेहरुलाई पुरस्कृत गरिँदैछ ।
ज्ञानेन्द्रकै शव्दमा यी प्रश्नहरुको समीक्षा गर्न अब विलम्व भैसकेको मात्रै छैन, शक्ति सन्तुलन र राष्ट्रिय सहमतिका लागि राष्ट्रिय कार्यसूची र शक्ति सन्तुलनका आधारमा राष्ट्रिय सहमति कायम गरिनुपर्ने खाँचो भैसक्या छ ।