कुन महिनामा के खाने ? कविताको टिप्स

मौसम अनुसारको खानेकुरा खानुपर्छ यस्ता खानेकुराले स्वास्थ्यमा धेरै नै फाइदा पुग्छ भन्ने कुरा त हामीले सुन्दै आएका छौँ । परापूर्व कालदेखि नै कुन भोजनलाई कसरी र कहिले ग्रहण गर्ने भन्ने बारे विभिन्न चाडबाड तथा तिथि, मितिले पनि जनाएको पाउँछौँ ।

लेखिका कविता दाहालले आफ्नो सासू आमाबाट पाएको ज्ञानलाई आफ्नो संस्मरणात्मक पुस्तक ‘स्मृतिभित्र सासू र भान्सा’ मा समेटेकी छिन् । कविताको यसै संस्मरणात्मक पुस्तकको केही अंश जस्ताको त्यस्तै हामीले पाठकहरूको लागि यहाँ समेट्ने प्रयास गरेका छौँ।

हामी कसरी निरोगी हुने भन्ने कुरा बाह्र महिनामा गरिने भोजनले हामीलाई सजग बनाएको छ । जस्तै :

१) वैशाख महिना :
वैशाख १ गते तराई भेगमा जुटशीतल पर्व मनाउँछन् । माटोसँग सद्भाव राखी हिलो छ्यापाछ्याप गरी माटोकै टीका लगाई आफूभन्दा ठूला अग्रजका हातबाट आशीर्वाद लिने परम्परा कायमै छ । अझै यो दिन सजिउन (शीतलचिनी/सोइजन, मोरिङ्गा) का परिकारसँग दहीको कडी, मुगको बारा, बेसनको बडी र नयाँ अन्नहरू खाने चलन छ । शीतलचिनीमा धेरै किसिमका खनिज तत्त्वहरू पाइन्छ । जसको सेवनले धेरैभन्दा धेरै रोगहरूलाई रोकथाम गर्दछ । यस्ता प्रकारको भोजनलाई प्रोत्साहित गर्नुपर्छ ।

२) जेठ महिना :
अक्षयतृतीया भगवान् श्री भोलेनाथ तथा माता पार्वतीको बिहे भएको दिन । सत्ययुग सुरु भएको दिन । जौको सातु र सख्खरको सर्बत अरूलाई खुवाएर खाने पर्वका रूपमा लिइन्छ । अन्नको राजाका रूपमा रहेको जौको सेवनले स्वास्थ्य निरोगी हुन्छ । सोच्ने शक्ति बढाउँछ र सख्खरको सर्बतले शरीर स्वस्थ बनाउँदै शीतलता प्रदान गर्दछ । शास्त्रीय मान्यताअनुसार जौको सातु सर्बत दान गर्नाले कुनै पनि कुरा क्षय नहुने र सम्पत्ति अक्षय हुने कुरा शास्त्रमा लेखिएका छन् । भगवान् शिव र पार्वतीको शुभ-विवाह भएको पावन दिन भएर पनि यसको महिमा अझै उच्चकोटीको रहेको छ ।

३) असार महिना :
असार महिना कृषि उपजका लागि उपयुक्त महिना भएको र माना रोपेर मुरी फलाउने (उब्जाउने) महिना भएकाले यो महिनालाई कृषकहरूले निकै महत्त्व दिएको हुन्छ । असार १५ गते दही चिउरा पर्व र धान दिवसका रूपमा पनि लिने गरिन्छ । खेतमा काम गर्ने किसानले आफूमा शक्ति प्राप्त होस् भनी दही चिउरा खाने प्रचलन रहेको अनि दही र चिउराले शरीरमा शीतलता दिई शक्तिसञ्चय गरी दिने हुनाले दही चिउराको परम्परा चलेको हो भन्ने कुरा हामीले बुझ्नु जरुरी छ ।

४) साउन महिना :
श्रावण महिना वर्षकै सर्वश्रेष्ठ महिना भगवान् शिवको पूजन महिना, चारैतिर हरियाली, नदीनाला छहराहरू निश्चल बहने महिना, भगवान् श्रीकृष्ण राधाको झुला महिना, श्रावण महिनाको महिमा अपरम्पार छ । यसै महिनाको १५ गते पायस (खिर) खाने, भगवान्लाई खिर चढाउने हाम्रो परम्परा छ । भगवान् शिवलाई अत्यधिक रूपमा दूध दही चढाउने महिना भएर पनि होला खिरको प्रचलन चलेको । कृषकहरूले असारमा हिलोसँग खेलेर खेतीपाती गरेका हुन्छन् । चिसोमा धेरै चलेको हुनाले शरीरको चिसो हराउन खिर खाने चलन चलाएको हो । खिर सात्त्विक आहारमध्ये उत्तम आहार मानिएको छ । सर्वप्रिय पनि छ ।

५) भदौ महिना :
भदौ महिनामा पर्ने जनैपूर्णिमा र गाईजात्रा पर्वले यो महिनाको महिमालाई महत्त्व दिइएको छ । अझ यसै महिनामा नौ प्रकारका गेडागुडी भिजाएर टुसा उमारिएको क्वाटीको महत्त्व छ । वर्षातमा भिजेर गलेका र थाकेका किसानहरूले यो नौ थरीको क्वाटीको झोल खाएर आफ्नो शरीरको दुर्बलतालाई भगाउँछन् । किसानविशेष मात्र नभई सम्पूर्ण मानवहरूले यस्तो नौ थरीका गेडागुडी खाँदा स्वास्थ्यमा अनुकूल फाइदा हुन्छ । यसैभित्र बाह्र मसला, नौ मसलासमेत प्रयोग हुने हुँदा यो क्वाटी मान्छेको जीवनमा एउटा चमत्कारी खाद्य वस्तुका रूपमा पहिचान छोड्न सफल भएको छ । मसलाकै कुरा गर्दा अर्को एक मसलाको पनि सम्झना आयो मलाई- सुत्केरी मसला । यो मसला महिलाहरूका लागि नयाँ जीवन दिने एक अमृतरूपी मसला हो । अहिलेको आधुनिक युगमा बजारमा आएका च्यवनप्रास (चौवन्न प्रास) भन्दा कम गुणकारी छैन सुत्केरी मसला । नामाकरण सुत्केरी मसला राखिए पनि यो मसला समय समयमा निर्माण गरी बच्चा, बूढाबूढी, अशक्तलाई सेवन गराउन ज्यादै हितकारी छ । क्वाटीमा प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फस्फोरस, मिनरल्स जस्ता मानव शरीरका लागि अति आवश्यक पोषकतत्त्व पाइन्छ । क्वाटीले रोग प्रतिरोधात्मक क्षमता बढाउने, कब्जियत हटाउने, स्मरणशक्ति बढाउने, मान्छेलाई सुन्दर स्वस्थ र रोगमुक्त गराउने गुण भएकाले हामीले यस्तो कुरा खाँदा राम्रो हुन्छ।

६) असोज महिना :
सामान्यतया बडादसैं यही असोज महिनामा नै पर्दछ । दसैंका लागि हामी घटस्थापनाको दिन बालुवामाथि देवी भगवती (नवदुर्गा) को आराधना गर्दै मकै, गहुँ, जौ, धान आदि अन्न मिसाएर जमरा राख्छौँ । जमरा दशमीका दिन टीका लगाउन मात्र हो भनेर कतिले बुझेका हुन्छन् । लगाउनका लागि मात्र होइन, जौ-गहुँको जमरा खान पनि हुन्छ । यसको सेवनले मानव जीवनलाई रक्षा गर्छ भनेर हामीले बुझ्नु जरुरी हुन्छ ।

जमराको अचार, सलाद, सर्बत (जुस) बनाएर पनि खान सकिन्छ । जमराको सेवनले निकै ठूला रोगहरूलाई निको पार्न मद्दत गर्दछ भने छालाको सौन्दर्य बढाउँछ । शरीर स्वस्थ र तन्दुरुस्त राख्दछ भने शरीरको सुजन हटाउँदछ । दाँतको समस्या समाधान गर्छ । यसमा सोडियम र क्याल्सियम प्रचुर मात्रामा हुन्छ । यो जमराको जुस गाईको दूधभन्दा पनि निकै पोसिलो हुने हुँदा जीवनमा यो निकै नै गुणकारी रहेको कुरा आयुर्वेदमा लेखिएका छन् । आवश्यकताअनुसार हामीले यसको सेवन गरिरहनुपर्छ, यसका लागि दसैं पर्खिनु पर्दैन । जमरा उमारेर हरेक मौसममा उपभोग गर्न सकिन्छ ।

७) कात्तिक महिना :
कात्तिक महिनामा हरिबोधनी एकादशी र तिहार पर्व पर्ने हुँदा यो महिनाको महिमा पनि कम छैन । कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन काग तिहारबाट पञ्चक सुरु भई कात्तिक कृष्णपक्ष द्वितीय तिथिको भाइटीका समय पाँच दिन मनाइने पर्वको ठूलो महत्त्व छ । तिहारको सांस्कृतिक पक्ष पनि राम्रो छ। जब कृषकहरू आफ्नो खेतमा सुनौलो अन्न उत्पादन गर्छन् र यसै महिनामा घरमा भित्र्याउँछन् तब खुसीयाली रमाउँदै धर्तीमातालाई धन्यवाद दिई पृथ्वी पूजनका साथै माता लक्ष्मीको पूजा गर्छन् । यी सबै प्रसङ्ग भान्सा र भोजनसँग गासिएका छन् ।

तिहारमा भाइपूजा गर्दै नरिवल, काजु, किसमिस, बदाम, ओखर, कटुस, सुकमेल, ल्वाङ, सुपारी, अन्जीर, पेस्ता, दालचिनीसहित सेल, रोटी, पुरी आदि मिठाई र तिलको अचार खान्छौँ । यहाँ तिलको पनि महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । मानव जीवनमा तिललाई महत्त्वपूर्ण अर्थात् अमृतसरह मानिन्छ । यी सबै खाद्यपदार्थ मानव जीवनका लागि अति उपयोगी छन् । जसले मानव जीवनलाई प्राण रक्षा गर्न र रोग लाग्नबाट बचाउँछ ।

त्यस्तै हरिबोधनी एकादशी, तिहार व्रत अनि व्रतपछाडि सेवन गरिने तुलसी, पानी, उखु, केरा, सख्खर, कन्दमुल, काँचो कचिलो अनि दही चामल न्वागी खाने यी सबै हामीलाई हित गर्ने कुराहरू हुन् । जो हामी सेवन गर्छौं । हाम्रो धर्म र संस्कृतिले हामीलाई समय- समयमा अनुशासनमा राख्न सुपाच्य भोजन खान सिकाइरहेको हुन्छ । यस्ता कुरा हामीले भुल्नु र बिर्सनु हुँदैन । यसलाई निरन्तरता दिँदै जीवन आगाडि बढाइरहनुपर्छ । एकादशीको भोलिपल्ट अमलाको बोटमुनि बसी वनभोज खाने परम्परा पनि छ । यसले के बुझाउँछ भने अमला मानव शरीरका निम्ति अमृत समान हो । यसको सेवनले शरीरमा राम्रो अलौकिक परिवर्तन ल्याइदिन्छ । रगत सफा गरिदिन्छ । त्यसैले अमलाको महत्त्व बुझाउन पनि यसको फेदमुनि बसेर वनभोज खाने चलन चलाएको हो भन्न सकिन्छ । यसै महिनामा छठपर्व पनि पर्ने हुँदा छठमा प्रयोग हुने खानाहरू दूध, चामल, सख्खर, राखेको खिर स्वास्थ्यका लागि निकै लाभदायक हुन् । त्यस्तै उखु, केरा, गहुँ र जौ प्रयोगमा ल्याइन्छ । मानव जीवनमा निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ यी खाद्यवस्तुले ।

८) मङ्सिर महिना :
मङ्सिर महिनामा नाम उच्चारण नगरी खाने काँक्रो र काँक्रोको अचार हो । जसलाई मङ्सिरे भनेर सम्बोधन गरिन्छ । काँक्रो आफैमा गुणकारी फल हो । जसमा पर्याप्त मात्रामा पानी रहेको हुन्छ । काँक्रो र काँक्रोको पानीले पाचनशक्ति तीव्र बनाउँछ र खानामा रुचि बढाउँछ।

९) पुस महिना :
पुस महिनाको पन्ध्र चिनियाँ धानको चामल वा खट्टे खाने चामलको खट्टे भुटेर घिउमा मोलेर घिउ खट्टे खाने चलन छ । जाडोको सर्दीको सुरुवाती महिना भएकोले शरीरलाई गर्मी बनाउन घिउ-खट्टे खाने प्रचलन आएको हो साथै पुस महिनामा शीत खाने चलन पनि नेपालको पश्चिमी भेगको हिमाली क्षेत्रमा रहेको पाइन्छ । कतै-कतै हिउँ साँधेर पनि खाइन्छ । मध्यभागतिर आफूले निर्माण गरेको गुन्द्रुकलाई शीत खुवाउनुपर्छ भनी रातभरि खुल्ला आकाशमुनि गुन्द्रुक राख्ने गरेको पनि पाइन्छ । साँच्चै पुसमा शीत र हिउँको प्रयोग मानव जीवनमा आवश्यक भएर नै यो परम्परा चलाइएको हुनुपर्छ ।

१०) माघ महिना :
धार्मिक मान्यताअनुसार माघे सङ्क्रान्तिबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर सङ्क्रान्ति भनिएको हो । सङ्क्रान्तिका दिन स्नान गरी भगवान्‌को उपासना पूजापाठ गरी वनतरुल, सखरखण्ड, पिँडालु जस्ता कन्दमुल फलाहार गरिन्छ । जसले नसासम्बन्धी रोगहरू निवारण गर्ने कार्य गर्दछ । त्यसैगरी यस पर्वमा घिउ-चाकु, तिलको लड्डु, तरुल र मासको खिचडी खाने चलन छ । जसले मस्तिष्कलाई चुस्त-दुरुस्त बनाइराख्ने काम गर्दछ भने तेल जिउमा घस्दा चिसोबाट मुक्ति मिल्ने कुरा शास्त्रमा बताएको छ ।

११) फागुन महिना :
यो महिना पनि उच्चकोटीको महिनाका रूपमा लिन सकिन्छ । यसै महिनामा शिवरात्रि पर्व पनि पर्दछ । भगवान् शिवले तान्डवनृत्य गर्दै ब्रह्माण्डलाई आफ्नो तेस्रो आँखाको ज्वालाले नष्ट गरिदिएकाले यस दिनलाई शिवरात्रि भनिएको हो भन्ने भनाइ पाइन्छ ।

कोही भगवान् शिव र पार्वतीबीच भएको महाविवाह भएर पनि यसलाई शिवरात्रि भनिएको हो भन्ने गर्दछन् । कोही समुद्र मन्थन गर्दा निस्केको कालकेतु विष भगवान्ले पिउनुभएकाले पनि यसलाई शिवरात्रि भनिएको हो भन्दछन् । कोही चाहिँ भगवान् शिवको सार्है प्रिय रात्रि भएकाले यसलाई शिवरात्रि भनिएको हो भन्दछन् । कुरा जुनसुकै होस् । यो दिन भगवान् शिवको भव्य पूजा हुने दिन हो । योग साधनाको दिन पनि हो । यो समयमा भाङ, धतुरो, गाँजा, बेलपत्र बेल, अत्यधिक प्रयोग हुने दिन पनि हो । यो दिन भगवान् शिवको प्रिय वस्तु भन्दै गाँजा, भाङ, धतुरो, बेलपत्र, गाईको दूध, घिउ, मह भोलेनाथलाई चढाउने र प्रसादका रूपमा ग्रहण गर्ने चलन पनि चलिआएको छ । गाँजालाई सदुपयोग गर्न सक्यो भने औषधी हुन्छ । दुरुपयोग भयो भने विष हुन्छ । आयुर्वेदका अनुसार गाँजालाई दुखाइ कम गर्ने, श्वास-प्रश्वास, दम-खोकी, पाचनक्रियासम्बन्धी समस्याहरूमा औषधीका रूपमा प्रयोग गर्न सकिन्छ । यसैसँग गासिएको भाङ-धतुरो पनि आवश्यकताअनुसार सेवन गर्दा मानव स्वास्थ्यमा रामवाण ओखतीको काम गर्दछ ।

१२) चैत महिना :
प्रकृतिका लता लहरामा पालुवा फेरिने महिना, फलफूलका वृक्षमा फूल फुल्ने महिना, प्रकृति साह्रै रमाएको महिना, भगवान् श्रीराम जन्मिएको महिना भएकोले यसको आफ्नै महत्त्व छ । यसै महिनामा फागुपूर्णिमा (होली) पर्ने हुँदा अझै सुन्दरता छाइएको महिना पनि भन्न सकिन्छ । त्यस्तै चैतेदसैंसमेत समावेश भएको महिना भएकोले यो महिनाको महत्त्व र विराटता गजबको छ । रामनवमी मनाउँदै गर्दा भगवान् श्रीरामको विजय उत्सवका रूपमा मनाइने फागुपूर्णिमाको रौनकले हाम्रो परम्परा, संस्कृति, संस्कारको निकै महत्त्वपूर्ण चित्रण गरेको हुन्छ । फागुपूर्णिमाको यो महिनालाई होलिकाको दहनसँग पनि गाँसिएको छ । विजय उत्सव मनाउने क्रममा रङ्ग उत्सव मनाउँदै भाङ हालेको खिर र भाङ हालेको मिठाईहरू खाएर पर्व मनाइन्छ ।

 

About Diamond Joshi

डायमण्ड जोशी सर्वाधिक लोकप्रिय लेखक तथा सञ्चारकर्मी हुन् । १४ वर्षको उमेर देखि पत्रकारीता सुरुवात गरेका उनको बौद्धिकता हिन्दु धर्मका सर्वोच्च धर्मगुरु चारमठ मध्ये ज्योतिर्मठका शङ्कराचार्यबाट प्रशंसित छ । जोशीको 'पौरस्त्य वाङ्मयको कठोर यात्रा' भन्ने एउटा पुस्तक पनि प्रकाशित छ ।

Check Also

बर्दिवासको बारेमा बन्यो म्युजिक भिडियो

बर्दिवासको समग्र क्षेत्रलाई समेटेर स्थानिय गायक तथा सङ्गीतकार जिवनाथ पोखरेलले केही समय अघि मात्र रेकर्ड …